एजेन्सी– टर्कीका सैनिकले सिरियाको इदलिबमा गरेको आक्रमणमा ५५ सिरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ। सिरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा भएको घटनामा परी उनीहरू मारिएको टर्कीका अधिकारीले जानकारी दिएका छन्।
‘हाम्रा स्रोत तथा संयन्त्रमार्फत हामीलाई प्राप्त पछिल्लो जानकारीअनुसार इदलिब क्षेत्रमा भएको पछिल्लो घटनामा कम्तीमा ५५ जना मारिएका छन्’, टर्कीको रक्षा मन्त्रालयले जनाएको छ। मारिएका र नियन्त्रण गरिएका कुरालाई टर्कीका अधिकारीहरूले ‘निष्प्रभावित पारिएको’ भन्ने शब्दको प्रयोग गरेका छन्। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सिरियाली सेनाले निहुँ खोजेमा प्रत्याक्रमण गर्ने चेतावनी दिएको भोलिपल्ट यो घटना भएको हो। आफ्नो देशका सुरक्षाकर्मीहरूलाई सिरियाली सुरक्षाकर्मीले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरूले पनि आक्रमण गर्ने उनले चेतावनी दिएका थिए।
टर्कीका सुरक्षाकर्मीविरुद्ध फेरि अर्को आक्रमण भए निःसंकोच टर्कीका सुरक्षाकर्मीहरूले सिरियाली सैनिकमाथि आक्रमण गर्ने एर्दोगानको स्पष्टोक्ति थियो। सिरियाको इदलिब प्रान्तमा केही सातादेखि दुई देशका सुरक्षाकर्मीबीच विवाद भइरहेको छ।