एजेन्सी– वैज्ञानिकहरुले अन्टार्कटिकामा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको बताएका छन्। अन्टार्कटिका महाद्वीपमा पहिलो पटक २०.७५ डिग्री सेल्सियस (६९.३५ डिग्री फहरेनहाइट) मापन गरिएको अनुसन्धानकर्ताहरुले बिहीबार जानकारी दिएका छन्।
हामीले अन्टार्कटिकामा यत्रो तापक्रम बढेको कहिल्यै थाहा पाएका थिएनौं,’ ब्राजिली वैज्ञानिक कार्लोस सेफरले एएफपीसँगको कुराकानीमा भनेका छन्। कार्लोसका अनुसार फेब्रुअरी ९ मा सेमोर आइल्यान्डबाट २०.७५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो।
अर्जेन्टिनाका वैज्ञानिकहरुले यसअघि फेब्रुअरी ६ मा अन्टार्कटिकाको तापक्रम १८.३ डिग्री सेल्सियस पुगेको बताएका थिए। मानवीय गतिविधिका कारण विश्वमै जलवायु परिवर्तनको असर देखिएको र अन्टार्कटिकामा पनि त्यसको प्रभाव परेको वैज्ञानिकहरुले जानकारी दिएका छन्। अन्टार्कटिकाको ‘ग्लेसियर’ र ‘आइस शीट’ पग्लिँदै जाँदा समुद्री सतह बढ्दै गएको र त्यसको प्रत्यक्ष प्रभाव समुद्री किनारमा रहेका सहरहरु र साना टापु देशहरुमा परेको पनि वैज्ञानिकले बताएका छन्।
यसअघि मार्च २४, २०१५ मा अन्टार्कटिकाको तापक्रम १७.५ डिग्री सेल्सियस मापन गरिएको थियो। सन् १९६१ देखि अन्टार्कटिकाको तापक्रम मापन सुरु गरिएको हो।