एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी पत्नी मेलनिया यही फेब्रुअरी २४ मा भारत भ्रमणमा आउँदैछन्।
भ्रमणमा आउनुअघि मेलानिया उत्साही देखिएकी छन्। उनले हालै भारतबाट आफूहरुलाई निम्तो गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छन्। मेलानियाले ट्वीटर मार्फत आफू र पति डोनल्ड ट्रम्प भारतमा पहिलो भ्रमणका लागि उत्साही भएको प्रतिक्रिया दिएकी हुन्।
‘न्यानो निमन्त्रणका लागि धन्यवाद नरेन्द्र मोदी। यो महिनाको अन्त्यमा अहमदाबाद र नयाँ दिल्ली भ्रमण पर्खिरहेका छौँ। ट्रम्प र म यो भ्रमणका लागि उत्साही छौँ। साथै अमेरिका र भारतको निकट सम्बन्धका लागि,’ मेलानियाले लेखेकी छन्।
डोनल्ड ट्रम्प र मेलानिया फेब्रुअरी २४ मा दुईदिने भारत भ्रमणका लागि आउने भएका हुन्। यसबारे भारत सरकारले औपचारिक जानकारी गराइसकेको छ। उनीहरु अहमदाबाद र नयाँदिल्ली भ्रमण गर्ने कार्यक्रम छ। अहमदाबादमा उनीहरुका लागि विशेष कार्यक्रम गरिने कार्यतालिका छ।
उक्त कार्यक्रममा एक लाख मानिस उपस्थित हुने अपेक्षा गरिएको छ। भारतीय मिडियाका अनुसार मोदीको गृहक्षेत्र अहमदाबादमा ‘केम छो ट्रम्प’ कार्यक्रम आयोजना गरिनेछ।
त्यसअघि महात्मा गान्धीको समाधीस्थल सावरमती नदीमा पनि ट्रम्पलाई घुमाइनेछ । त्यहाँ मोदीसँगै ट्रम्पले गान्धीलाई श्रद्धाञ्जली दिनेछन् । २०१४ देखि २०१८ सम्म चिनियाँ राष्ट्रसि जिनफिङ, जापानी प्रधानमन्त्री सिन्जो आबे र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई अहमदाबादमा भव्य स्वागत गरिएको थियो ।