काठमाडौं– भोली (शुक्रबार)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ डायरीज’ को प्रिमियर शो सम्पन्न भएको छ। बुधबार काठमाडौंको बिग मुभिजमा चलचित्रको प्रिमियर शो आयोजना गरिएको थियो। प्रिमियर शोमा चलचित्रकर्मी, पत्रकारको बाक्लो उपस्थिती थियो।
प्रिमियर शोमा उपस्थित धेरैले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन्। डेब्यु निर्देशक सौरभ चौधरीको कामलाई पनि धेरैले राम्रो भनेका छन्। यस्तै, यो चलचित्रको क्लाइमेक्सलाई पनि रुचाइएको छ।
यो चलचित्रबाट डेब्यु गरेकी नायिका रुविना थापाको भने धेरैले प्रशंसा गरेका छन्। रुविनाको अभिनय र हाउभाउलाई धेरैले रुचाएका छन्। डेब्यु चलचित्र भए पनि रुविनाले उत्कृष्ट काम गरेको धेरैको प्रतिक्रिया थियो। प्रिमियर शोमा कलाकारहरु भुवन केसी, शिव श्रेष्ठ, झरना थापा, केकी अधिकारी, प्रमोद अग्रहरी, निराजन प्रधान, निर्देशक सुदर्शन थापा, नवल नेपाल, विशाल भण्डारी लगायत उपस्थिति थियाे।
सौरभ चौधरीको निर्देशनमा बनेको यो चलचित्रमा रुविनासँगै सुशिल श्रेष्ठ, विश्वजित रिमालको मुख्य भूमिका छ। साहिल खान एसोसियट निर्देशक रहेको चलचित्रलाई विनोद सापकोटाले निर्माण गरेका हुन्।