एजेन्सी— कुवेतमा बालुवाको ढिस्कोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ। अरब टाइम्सले जनाएअनुसार कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ४ जना नेपाली कामदारको मृत्यु भएको हो। मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी छ।
चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेको थियो। ढिस्कोमा पुरिएकामध्ये ६ जनाको सकुशल उद्धार गरिएको कुवेती अधिकारीले जनाएका छन्। ३ जनाको घटनास्थलमै र एक जनाको बाहिर निकालेपछि मृत्यु भएको अरब टाइम्सले जनाएको छ।
कुवेतको भौतिक मामिलासम्बन्धी मन्त्री राना अल फरिसले घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गर्न निर्देशन दिएकी छिन्। उनले दुर्घटनाको कारण पत्ता लगाइ दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएकी छिन्।