एजेन्सी– चीनको वुहानबाट सुरु भएको कोरोना महामारीबाट एक हजारभन्दा बढीको मृत्यु भएपछि त्यसको औपचारिक नाम जुराइएको छ।
संयुक्त राष्ट्र संघ स्वास्थ्य नियोगले मंगलबार यसको आधिकारिक नाम कोभिड-१९ घोषणा गरेको हो। संयुक्त राष्ट्र संघले यसले सिंगो विश्वका लागि गम्भीर खतरा भएको तर, यो नियन्त्रणमा आउने यथार्थ अवसर भएको जनाएको छ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टटेड्रोस एधानोम गेब्रेयेससले संयुक्त राष्ट्र संघका केन्द्रीय कार्यालय जेनेभामा सञ्चारकर्मीसँग कुरा गर्दै भने, हामीले अहिले यस रोगको नाम राखेका छौं , कोभिड-१९ जसमा कोको अर्थ कोरोना, भिको अर्थ भाइरस, डीको अर्थ डिजिज् रोग र १९ को अर्थ रोग पत्ता लागेको समय राखिएको हो।
३१ डिसेम्बरमा पहिलो पटक पहिचानमा आएको कोरोना भाइरसको भौगोलिक स्थान, कुनै जनावर अथवा समूह विशेषभन्दा पनि अन्तर्राष्ट्रिय सिफारिसका आधारमा नाम राखिएको टेड्रोसले बताए।
डब्लुएचओले यसअघि कोरोनालाई २०१९(एनकोभु) नाम दिएको थियो। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले अस्थाई रुपमा नोभेल कोरोना भाइरस निमोनिया (एनसीपी) नाम दिएको थियो।
कोरोनाका कारण मंगलबारसम्म ११ सयको मृत्यु भइसकेको छ भने ४५ हजारभन्दा बढी संक्रमित छन्।