काठमाडौं– धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ को इन्टरनेशनल (विदेशी) राइट्स १ करोड १५ लाखमा विक्री भएको निर्माण टिमले जनाएको छ। फिल्म नेपालमा रिलिज नहुँदै महङ्गोमा विदेश राइटस् विक्री भएको यो पहिलो पटक हो।
जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि यो फिल्म निर्माण गरिएको हो। फिल्म सुबिहानी फिल्मसको ब्यानरमा निर्माण भएको हो।
अमेरिकाको नेप्सिने कम्पनीले राइटस् खरिद गरेको आयोजकले जनाएको छ। आज (सोमवार) रंगशाला निर्माण स्थलमा सुबिहानी फिल्मस् को तर्फबाट कलाकार तथा अभियन्ता सिताराम कट्टेल (धुर्मुस) र नेप्सिने कम्पनी नेपालको प्रमुख विधान कार्कीबीच सम्झौता गरियो।
फिल्मको नाफाको ५० प्रतिशत रकम निर्माण भइरहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालालाई दिइने यसअघि नै निर्माण टिमले जनाएको छ। शैलेन्द्र डी कार्कीले खिचेको यो फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। यस्तै फिल्ममा कुमार कट्टेल र दीपक आचार्यको कथा छ।
दिन्डु लामा ल्ह्योमोले निर्माण गरेको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। फिल्म फागुन ९ गतेदेखि रिलिज हुँदैछ। फिल्ममा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ।