काठमाडौँ– वर्षायाममा मात्र झाडापखाला लाग्छ भन्नु गलत हो। वर्षायाममा संक्रमित रोगको भय हुन्छ। खानेकुरा र पिउने पानीमा संक्रमण फैलन्छ। त्यही कारण झाडापखाला लाग्नसक्छ। अहिले जाडो सिजन छ।
जाडो सिजनमा पनि झाडापखाला हुनसक्छ। जाडोे महिनामा झाडापखाला (विन्टर डायरिया)का बिरामीको चाप हुन्छ। यस्तो समस्या खासगरी नवजात शिशु र कम उमेरका केटाकेटीमा बढी हुन्छ। यो बुझ्न आवश्यक हुन्छ कि गर्मीमा भन्दा जाडोमा हुने झाडापखाला निकै खतरनाक हुन्छ। यस्तो झाडापखालाको मुख्य कारण नै चिसो हो।
सामान्य उपचारले पनि यस्तो झाडापखाला एक हप्तामै ठीक हुन्छ। तर, एक हप्ताभन्दा बढी झाडापखाला भइरह्यो भने त्यो ‘कर्निक डायरिया’मा परिवर्तन हुन्छ। उपचार नगरेको अवस्थामा यसले गम्भीर परिणाम ल्याउनसक्छ। यसको उपचार ठीकसँग नगरेको अवस्थामा जलवियोजन (शरीरमा पानीको मात्रा कम) अर्थात् ‘डिहाइड्रेसन’ हुनसक्छ। शरीरमा पानीको कमी भएमा बिरामीको मृत्यु नै हुनसक्छ।
– बिरामीलाई हेरेर पनि जलवियोजनबारे थाहा पाउन सकिन्छ। जस्तो कि खराब स्वास्थ्य अवस्था, आँखा गाडिएको, बेहोस भइरहने, मुख, ओठ, जिब्रो सुख्खा छ भने त्यस्ता बिरामीलाई जलवियोजनको समस्या भएको हुनसक्छ।
– बिरामीलाई छामेर पनि पत्ता लगाउन सकिन्छ। पेटको छाला लुज र पातलो भएमा जलवियोजन भएको हुनसक्छ, जलवियोजन भएमा बेचैन हुने, झर्काे मान्ने, आँखा भित्र गडिने, आँखामा आँसु नहुने, सुख्खा हुनेजस्ता समस्या देखिन्छन्।
– यस्तो समस्याले मुख तथा जिब्रोलाई सुख्खा बनाउने, अत्यधिक तिर्खा लाग्ने, पानी पिउँदा हतारिनेजस्ता लक्षण देखाउँछ, जलवियोजन भएको मानिसको छाला तानेर छोड्दा विस्तारै फर्किने गर्छ, फलफूल तथा हरियो सागपातलाई राम्रोसँग पखालेर मात्र खाने गर्नुपर्छ। र, खानेकुरालाई जहिले पनि छोपेर राख्नुपर्छ।
– बच्चालाई जीवनजल दिइरहनुपर्छ। स्तनपानलाई नियमित राख्दै नरम खाद्यपदार्थ जस्तै केरा, उसिनेको आलु मुछेर खान दिनुपर्छ, बच्चालाई ग्लुकोज या चिनीपानीको झोल मात्र दिनु हुँदैन। यसो गर्दा बच्चाको पेटमा ग्यास उत्पन्न हुन्छ। जसले ब्याक्टेरिया संक्रमणको सम्भावना बढेर जाने गर्छ।
– त्यस्ता तरल पदार्थको पनि सेवन गराउनु हुँदैन जसमा कफिनको मात्रा हुन्छ। जस्तो कि कोकाकोला, कफि आदि, झाडापखालाबाट ग्रसित शिशुलाई आमाको दूधबाहेक बाहिरी दूध तथा दूधबाट बनेको परिकार खुवाउनु हुँदैन।