काठमाडौं– नेपालमा पाइने मीठो स्वाद र बासना हुने टिमुर, लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ। लेक लागेको अवस्थामा टिमुर खानु राम्रो हुन्छ। टिमुर अरुबेला पनि खानेकुरामा मिसाएर खाइन्छ। तर, जाडोमा भने यसले काइदाको काम गर्छ। खासगरी वाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन यसले काम गर्छ। साथै टिमुरले रोगप्रतिरोधात्मक क्षता पनि बढाउँछ।
टिमुरको अचार वा कुनै नुडल्समा टिमुर मिसाइने गरिन्छ, जसले त्यसको स्वाद दोब्बर बढाउँछ। स्वादका लागि मात्र होइन, ओखतीको रुपमा पनि यसले काम गर्छ। नेपाली टिमुर पछिल्लो समय विश्व बजारमै लोकप्रिय बन्दै गएको छ।
नेपालको प्राय पश्चिमी भूभागमा उत्पादन हुने टिमुर हरेक वर्ष विश्वभर निर्यात हुदै आएको छ। यो बहुउपयोगी छ। टिमुरको दाना स–साना राता ४ देखि ५ मिलिमिटर व्यासका हुन्छन्। यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छन्। टिमुरलाई मसला र औषधीको रुपमा पनि प्रयोग गरिन्छ।
यसमा औषधीय गुणः
टिमुरको प्रयोगले दाँत दुख्ने समस्यामा राहत मिल्छ। आयुर्वेदिकका अनुसार टिमुरले वायुशमन गर्ने, दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजिर्ण, हैजाआदी समस्यालाई निको पार्ने काम गर्छ। आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ। न्युन रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा र्पुयाउने गर्छ।
गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरि निको गराइन्छ। टिमुलको फलको बोक्राबाट तेल तयार पारिन्छ। यस्तो तेल सुगन्धित हुने गर्छ। टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ।
हैजामा टिमुरको प्रयोगः
हैजाको संक्रमण चलेको समयमा यो निकै उपयोगी वस्तु हो। कथंकदाचित हैजाको विमारीको उपचारको लागि अस्पताल तथा चिकित्सकको व्यवस्था मिल्न गाह्रो पर्यो भने यसको फल वा जराको बोक्रालाई पानीमा पकाएर बनाएको क्वाथ वा काँचो बोक्रालाई थिचेर निकालिएको रस बिमारीको उमेरलाई हेरी मात्रा मिलाएर सेवन गराउँदा लाभ हुन्छ।
स्वास्थ्योपचार निकायको पौँच नपुगेको स्थानहरुमा हुनसक्ने हैजाको संक्रमण आदिको लागि यो निकै उपयोगी सिद्ध हुनसक्ने छ। तर यसको विषयमा सम्बन्धित निकायले समयमै परीक्षण अभ्यास गर्न जरुरी हुनसक्छ।
पेट सम्बन्धी रोगमाः
यो विशेष गरी पाचनक्रिया कमजोर हुने विमारको सफल औषधि हो। यसले मन्दाग्नि, अपच, आऊ र यी समस्याको कारणले पेटमा हुने वायुशूलमा उत्तम औषधिको काम गर्दछ। पेटमा हुने क्रिमि (किरा) को संक्रमणलाई पनि यसले धेरै हदसम्म ठिक गर्छ।
संकुचक तत्त्वको कारण यसमा ग्राही विशेषता विद्यमान छ। जसले यो लगभग सबै प्रकारका अतिसार (खाना नपच्ने, दिशामा आऊँ मिश्रित पखाला जस्तो हुने) मा प्रयोगीय औषध द्रव्य सिद्ध भएको छ। यसको सेवनले यकृत (लिभर) बलियो हुने र जठराग्नि (पाचनक्रिया) मा सुधार आउने तथा पाचनक्रिया आदिको कारणबाट अनुहारमा आएको शोथ (फुल्ने समस्या) ठिक हुने बताइएको छ।
यसको सेवनले भोक बढाउँछ। समान्यतया मन्दाग्निमा यसको प्रयोग समान्य तरिकाबाट गरिएपनि पित्तज मन्दाग्निमा मिश्री काँढासँग र पित्तातिसारमा बेलको शर्वतसँग सेवन गर्न उत्तम हुने आयुर्वेदको निर्देशन छ।
दाँतको लागिः
यसको हाँगा बिँगा वा काँडालाई पानीमा पकाएर त्यसको पानीले कुल्ला गर्नाले दाँतको पीडा हट्ने र हाँगाले दाँत मल्नाले दाँत निर्मल हुने मत रहेको छ। यसर्थमा यो दन्त मञ्जनको राम्रो विकल्प पनि हुनसक्छ।
अन्य स्वास्थ्य समस्यामाः
मन–मस्तिष्क, पागलपन, रगत सम्बन्धित समस्या आदिमा पनि यो ग्रहणीय वस्तु रहेको जडीबुटी शास्त्रहरुले मुक्त कण्ठले चर्चा गरेका छन्। यसलाई पौष्टिक पनि मानिएको छ। वात, अर्बुद, उदररोग, आँखा, कान र ओंठको रोग, शिरको बोझ, दम, प्लिहा, पिसासम्बन्धी रोग आदिमा यसको औषधीय प्रयोग गर्न सकिने जडीबुटी ग्रन्थमा चर्चा छ।