काठमाडौं– पहिले–पहिले माघ १ गतेको सार्वजनिक बिदाका लागि नेपाली चलचित्र रिलिजका लागि निर्माताले मारामार गर्थे। यो केही बर्ष अगाडिको मात्र कुरा हो। माघ १ गते पर्ने माघे संक्रान्तीको बिदाका कारण निर्माताले चलचित्र जुधाएको खबर केही बर्ष अघिसम्म खुबै आउने गरेका थिए। केही हलहरुले एक दिनको बिदाका लागि ३ वटासम्म चलचित्र रिलिज भएका उदाहरण छन्। माघे संक्रान्तीको बिदामा राम्रो कमाई हुने अपेक्षा निर्माताको थियो।
तर, यो बर्षको चलचित्र रिलिजको क्यालेन्डेर हेर्ने हो भने उदेकलाग्दो छ। यो बर्षको माघे संक्रान्तीमा अहिलेसम्म कुनैपनि चलचित्र रिलिजको लागि तयारीमा छैन। पौष लागेसँगै हलमा नेपाली चलचित्रको उपस्थिती छैन। बलिउड र हलिउड चलचित्रकै हालिमुहाली हलमा छ। जाडो लागेर चलचित्र चलाउन निर्माता डराएका हुन् भन्ने हो भने पनि ‘दबंग–३’ हेर्न २ दिन राम्रै दर्शक हलमा देखिएका थिए। चलचित्रको समिक्षा कमजोर भएपछि आइतबार यो चलचित्रको व्यापारमा भारी गिरावट आएको छ।
नयाँ नेपाली चलचित्र अब माघको ३ गते रिलिज हुँदैछ। दर्शकले माघ २४ अगाडि चलेका कलाकारको चलचित्र हेर्न पाउने छैनन्। यो बर्ष चलचित्र निर्माणमा कमी त आएको छ। यसको असर, अब हलमा पनि देखिन थालेको छ। जसले गर्दा, माघे संक्रान्तीको बिदामा समेत निर्माताले चलचित्र रिलिज गर्न चासो देखाएका छैनन्। यो पहिले मारामार अहिले सुनसान के कुराले बनायो त्यसको बास्तविकता बुझ्न अलि गाह्रो भएको छ।