काठमाडौं– अहिलेकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले घुमफिर र पारिवारिक जमघटमा बढी व्यस्त भएको पाइन्छ। साम्राज्ञीले चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिजपछि नयाँ चलचित्रका लागि हतार नगरेको देखिन्छ। उनको माग कम भएर त होईन तर साम्राज्ञी अलि चुजी बन्न खोजेको देखिन्छ।
चलचित्र ‘मारुनी’ ले इनिसियल व्यापार राम्रो गर्न नसक्दा साम्राज्ञीको स्टारडममा नै प्रश्न उठेको थियो। चलचित्र ‘रातो टिका निधारमा’ त बक्स अफिसमा नराम्रैसँग चिप्लियो। यो चलचित्र पनि असफल भएपछि साम्राज्ञी अहिले गम्भिर बनेको देखिन्छ। साम्राज्ञीले नायक प्रदिप खड्कासँग काम गर्ने चलचित्र बाहेक अरु चलचित्र साइन गरेको खबर छैन। साम्राज्ञी नायक प्रदिप खड्काकै प्रतिक्षामा छिन्। तर, प्रदिपले यो चलचित्रका लागि यो बर्ष समय दिने सम्भावना कम छ।
नेपाली चलचित्र क्षेत्रमा साम्राज्ञीको स्टारडम जसरी उचाइमा पुग्यो, त्यसरी नै खस्किएको टिप्पणी हुने गरेको छ। किनकी, पहिलो चलचित्रबाट नै स्टार बनेकी यी सुन्दरीलाई पछिल्ला चलचित्रबाट भने धक्का लागेको पक्का हो। साम्राज्ञीले हरेक चलचित्रमा फरक भूमिका गर्न नपाउँदा उस्तै खालको भूमिकामा काम गर्नुपरेको बताउँदै आएकी थिइन्।
तर, उनले फरक भूमिका भनेर सर्वाधिक प्रशंसा गरेको चलचित्रबाट नै उनलाई राहत मिलेन। यसैले, अब उनले चलचित्र रोज्दा धेरै पटक सोच्नुपर्ने अवस्था छ। साम्राज्ञीले ‘रातो टिका निधारमा’ पछि नयाँ चलचित्र साइन गर्न हतार नगर्नुले पनि उनी गम्भिर बनेको संकेत त गर्छ। तर, साम्राज्ञीले चलचित्रको पर्दा भित्र मात्र होइन, बाहिरी दुनियाँमा हुने चर्चालाई पनि नियन्त्रण गर्न आवश्यक छ। उनलाई, उनको व्यक्तिगत हल्लाले अझै बढी असर गरेको पक्का हो। त्यो कुरालाई कसरी लैजाने भन्ने कुरा साम्रज्ञीकै हातमा छ।