काठमाडौं– लोकप्रिय र्यापर सुदिन पोखरेलले साढे सात वर्षपछि नयाँ गीत ‘जोश’ सार्वजनिक गरेका छन्। संगीत र पत्रकारितामा सक्रिय उनी अष्ट्रेलिया गएको साढे सात वर्षपछि सार्वजनिक गीत ‘जोश’ मार्फत पुर्नागमन गरेका हुन्। युट्युब मार्फत सार्वजनिक गीतमा सुदिनकै स्वर, शब्द र संगीत छ।
सुदिन आफैं फिचर भएको गीतको भिडियो विवरणमा लेखिएको छ, यो मेरो कथा हो। गीतमा कलाकारको संघर्ष र संगीत क्षेत्रभित्रको विकृतिमाथि व्यङ्ग्य गरिएको छ। गीतमा देश छोडेर परदेश भासिनुको पिंडादेखि साथीभाइको सम्झना समेतको कुरा समेटिएको छ। उनका पर्खाईमा रहेका फ्यानहरुका लागि यो खुशीयाली छाएको छ।
सुगम पोखरेलसँग मिलेर संगीत क्षेत्रमा यात्रा थालेका सुदिन गिरीश, प्रनिल र द युनिटीसँग जोडिएर र्याप गाएपछि थप चर्चामा आएका थिए। ‘मलाई भोट देऊ’, ‘सि इज द बम’, ‘म यस्तो छु, म उस्तो छु’, ‘आँखाभरि नाच्छौ’ आदि उनका चर्चित गीतहरु हुन्। नयाँ एल्बमको तयारीमा रहेका उनले ‘जोश’ शीर्षककै गीत सार्वजनिक गरेर नयाँ जोशका साथ संगीतमा सक्रिय हुने संकेत देखाएका छन्।