एजेन्सी–बलिउड सुपरस्टार सलमान खान अभिनित चलचित्रले प्राय ३ दिनमै सय करोडको आँकडा पार गर्छन्। उनको यो दशकमा रिलिज भएका धेरै चलचित्रको व्यापार यस्तै खालका रहेको छ। एक सातामै २ सय करोड कमाउने चलचित्र पनि सलमानकै छन्। तर, खिष्समसको अवसर पारेर रिलिज भएको सलमान अभिनित चलचित्र ‘दबंग–३’ भने बक्स अफिसमा कमजोर देखिएको छ।
यो चलचित्रले ४ दिनमा पनि सय करोडको आँकडा छुन सकेको छैन। त्यसैले कमजोर फिल्म भनेर आलोचना हुन थालेको छ। चलचित्रलाई सय करोडको आँकडा छुन पाँच दिन लाग्ने पक्का भएको छ। चलचित्रले शुक्रबार नै अपेक्षित व्यापार गर्न सकेन। यो चलचित्रले शुक्रबार २४.५० करोड, शनिबार २४.७५ करोड, आइतबार ३१.९० करोडको व्यापार गरेको थियो। तिन दिनमा ८१ करोड कमाएको यो चलचित्रले सोमबार अपेक्षित व्यापार गर्न सकेन।
सोमबार चलचित्रको व्यापार १०.७० करोड छ। चलचित्रले ४ दिनमा करिब ९२ करोडको कारोबार भारतीय बक्स अफिसमा गरेको छ। प्रभु देवाको निर्देशनमा बनेको यो चलचित्रलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन्। चलचित्रको व्यापार कमजोर हुनुमा यसको वर्ड अफ माउथ, भारतमा चलिरहेको आन्दोलनलाई मानिएको छ। आउँदो शुक्रबारबाट प्रतिक्षित चलचित्र ‘गुड न्यूज’ रिलिज हुने भएकाले पनि यो चलचित्रको हल घट्ने पक्का छ।
यसको असर, चलचित्रको दोश्रो साताको व्यापारमा पर्नेछ। चलचित्रले बक्स अफिसमा दुई सय करोड नकमाउने पक्का छ। सलमान खानको यो दशक राम्रै चलेको थियो। तर, यो दशकको अन्त्य उनको सुखद हुन सकेन। उनी अभिनित ‘भारत र दबंग–३’ यो बर्ष रिलिज भए। दुबै चलचित्र बक्स अफिसमा खरो उत्रन भने सकेनन्। यसले सलमान प्रति दर्शकको आशा घट्ने हो कि भन्ने चिन्ता छ।