काठमाडौं– अहिलेका लोकप्रिय गायक संजीव पराजुली सांगीतिक क्षेत्रमा लागेको झण्डै दुई दशक हुन लागि सकेको थियो। उनको स्वरमा रेकर्ड भएका गीतको संख्या भने झण्डै १ दर्जनको हाराहारीमा थिए। आधुनिक गीतमा उनले निरन्तर आवाज दिइरहेका थिए। सोही समय संजीवलाई दुई जना मिलेर गाउने रहर जाग्यो। गायिका टीका प्रसाँइको गीत सुन्ने संजीवले टीकालाई नै गीतको अफर गरे। टीकाकै शब्द तथा संगीतमा एउटा गीत तयार भयो, ‘तिमी मलाई मन पर्छ’।
यो गीत केही हदसम्म सफल भयो। गीत सफ्ट भर्सनमा तयार भएको थियो। यसपछि संजीवलाई डान्सिङ गीतमा स्वर भर्ने इच्छा जाग्यो। अष्ट्रेलियामा बस्दै आएका संजीवलाई संगीतकार भेटेर गीत खोज्न गाह्रो थियो। त्यसैले टीकालाई भने, ‘यदि कोहीसँग त्यस्तो गीत छ भने भन्नु है। हामीले गाउनु पर्छ।’ टीका गीतको खोजीमा थिइन्। सोही समय टीकाले संगीतकार आशिष अविरललाई भेटिन। उनले टीकालाई एउटा गीत सुनाए, ‘जोडी ढुकुर सँगै बसेको किन होला? नाई मलाई थाहा छैन’।
गीतको लय र शब्दले टीकाको ध्यान खिच्यो। तुरुन्तै संजीवलाई म्यासेज गरिन् र गीत सुनाइन्। संजीवले पनि उक्त गीत रुचाए। अनि तयार भयो सुपर हिट गीत, ‘नाई मलाई थाहा छैन।’ संजीव आफूलाई चिनाउने गीत यसैलाई मान्छन्। उनले भने, ‘गीत संगीत क्षेत्रमा नै काम गरिरहेको थिएँ। तर, श्रोताले खासै चिन्नुभएको थिएन। तर, यो गीतपछि संजीव पराजुली भनेर धेरैले चिन्न थाल्नुभयो। यो गीत मेरो करिअरको कोशेढुंगा सावित भएको छ।’
उक्त गीत दुई भर्सनमा तयार भएको छ। पहिला सफ्ट भर्सनमा सार्वजनिक भएको यो गीत पछि मात्र डान्सिङ शैलीमा आएको थियो। संजिव भन्छन्, गीत पहिला सफ्ट थियो। तर, यो गीत क्लबमा पनि बजोस् भन्ने लाग्थ्यो। त्यसैले आशिष अविरलजीसँग कुरा गरेर यसलाई डान्सिङ बिटमा पनि तयार गरियो। जुन एकदमै हिट भयो।’ एउटा गीत हिट भएपछि धेरैको नजरमा परेका थिए संजीव। शुभचिन्तक पनि कमाएका थिए। त्यो सँगै संजीवलाई दवाव पनि थपिएको थियो। संजीव भन्छन्, ‘धेरै जनाले अब के गर्दै हुनुहुन्छ, के आउँछ भनेर प्रश्न गर्नुहुन्थ्यो।
त्यसैले पनि मलाई अझै राम्रो गर्नुपर्ने चुनौती थपिएको थियो।’ गीतपछि संजीवका गीतहरु निरन्तर आइरहेका नै छन्। ‘कर्के नजर, नाई नाई हुन्न हुन्न’ लगायत गीतहरु उनको हिट गीतको सूचीमा थपिएका छन्। तर, संजीव आफू हिट गीतमा काम गर्छु भन्ने सोचले काम नगर्ने बताउँछन्। उनले भने, ‘म हिट गीत दिन्छु भनेर कहिल्यै काम गर्दिनँ। तर, जे गर्छु आफ्नो तर्फबाट उत्कृष्ट हुने गरी गर्छु।’ उक्त गीतपछि आएका प्रतिक्रियाहरु उनले मिश्रित पाएका छन्। कसैले नाई मलाई थाहा छैन् जस्तो नभएको बताउँछन् त कसैले फरक र मिठो भएको प्रतिक्रिया दिन्छन्। दुबै प्रतिक्रियालाई सकारात्मक रुपमा लिने गर्छन उनी । भन्छन्।
‘दुबैथरी प्रतिक्रियाले अर्को पटक सच्चिएर काम गर्ने मौका मिल्छ। त्यसलाई म एकदमै स्वीकार गर्छु।’ अहिले युट्युबको भ्युज र ट्रेण्डिङलाई सफलता मान्नेहरुको पछाडि आफू नभएको उनी बताउँछन्। भन्छन्, ‘ट्रेन्डिङ फेसन बनेको छ। त्यहाँ आएका प्रतिक्रियाहरुलाई हेरेर त कसरी मुल्याङ्कन गर्ने र ! जस्तो पनि विषय ट्रेन्डिङमा आइरहेको हुन्छ।’ बजारले खोजेको कुरालाई बुझेर सोही अनुसारको ट्रेन्ड सेट गर्नेमा आफ्नो ध्यान गएको संजीव बताउँछन्। अहिले उनी गीतको भिडियोमा पनि देखिन थालेका छन्। आफ्नो अनुहार देखाउने लोभमा परेको उनलाई आरोप लागिरहेको छ।
तर, संजीव त्यस्तो नभएको बताउँछन्। उनले भने, ‘त्यो लोभ होइन। यहाँ भिडियोमा जो देखिन्छ, त्यसैले गरेको हो भन्ने हुन्छ। त्यसैले म भिडियोमा गायकको रुपमा प्रस्तुत मात्र भएको हो।’ भिडियो निर्माणमा आफूले कुनै हस्तक्षेप नगर्ने उनको भनाई छ। संजीव अष्ट्रेलिया बस्दै आएका छन्। अष्ट्रेलियामा बसेर नेपाली गीत–संगीतको क्षेत्रमा काम गर्न कठिन नै छ। तर, अहिले उपलब्ध प्रविधिले आफूलाई सहज बनाइदिएको संजीव बताउँछन्। उनले भने, ‘अहिले हामीलाई उतैबाट गीत रेकर्ड गरेर पठाउन सजिलो भएको छ। मैले मेरा सबै गीत अष्ट्रेलियाबाट नै रेकर्ड गराएर पठाएको छु।’
आफू नेपाल नै बसेर गीत संगीतमा काम गर्ने भएपनि त्यसमा केही न केही समस्या हुने उनको बुझाई छ। तर, मनबाट केही कुरा गर्ने इच्छा राखिन्छ भने त्यो पूरा गर्न गाह्रो नहुने उनले बताए। अहिले दर्शक श्रोताहरुले पाएको प्रतिक्रियाले भोली कसरी काम गर्ने भन्ने बाटो तयार हुन्छ। त्यसैले राम्रा र नराम्रा दुबै प्रतिक्रियाहरुलाई आत्मसाथ स्वीकार गर्दछु।