काठमाडौं– नेपालमा पछिल्लो समय धेरै रियालिटी शो हरु भित्रिएका छन्। हिमालय टेलिभिजनबाट प्रशारण हुने साहसिक रियालिटी शो ‘हिमालय रोडिज’ को तेस्रो सिजनको प्रशारण सुरु भएको छ। सोमबार यो रियालिटी शोको पहिलो भाग प्रशारण भएको छ। पहिलो एपिसोडमा काठमाडौं कोअडिसन प्रशारण भएको छ।
काठमाडौं अडिसनबाट ७ जना प्रतियोगीहरु छनोट भएका छन्। जसमा अनुप विक्रम शाहीको टिम ‘रेड’ छनोट गर्ने ३ जना छन्। यस्तै, ‘हिमालय रोडिज’ को पहिलो सिजनका विजेता समन श्रेष्ठको टिम ‘ब्लु’ मा दुई जना छनोट भएका छन्। पहिलो सिजनदेखि नै रोडिजको निर्णायक बनेकी दिया मास्केको टिम ‘एल्लो’ ले एक प्रतियोगी पाएको छ।
‘ग्रिन’ टिमका टिम लिडर आशिष राणा ‘लाहुरे’ ले भने काठमाडौंबाट कोही पनि प्रतियोगीलाई आफ्नो टिममा पाएनन्। बरु होस्ट रेमनदाश श्रेष्ठले एक प्रतियोगीलाई छनोट गरेका छन्। अब क्रमश देशको विभिन्न शहरमा भएको अडिसनलाई प्रशारण गरिने छ। अडिसनबाट प्रत्येक ग्याङ्ग लिडरले आफ्नो टिममा जति पनि प्रतियोगी छान्न पाउने नियम छ।
तर, ‘कलिङ राउण्ड’ बाट भने प्रत्येक ग्याङ्गमा ३ जना हुनेछन्। होस्ट रेमनले आफूले छानेका प्रतियोगीहरु प्रत्येक ग्याङ्गमा १–१ जना थपिदिनेछन्। गत दुई सिजनभन्दा विल्कुलै फरक शैलीमा यो पटक हिमालय रोडिज तयार भएको छ। २ सिजनमा ग्याङ्ग लिडर थिएनन्। यस वर्ष भने चार जना ग्याङ्ग लिडर छन्। रोडिजको ‘टाक्स’ मा ग्याङ्ग–ग्याङ्गको भिडन्त हुनेछ। यस वर्षको रोडिज निकै उत्साहित बनेको टिमको भनाई छ।