काठमाडौं– नेपालमा पछिल्लो समय रियालिटी शोबाट धेरै नयाँ कलाकारहरुको जन्म भएको छ। ‘दि भ्वाइस अफ नेपाल–२’ को टप ४ मा पर्न सफल गायक सनिष श्रेष्ठले चलचित्रमा गीत गाएका छन्। सनिषले चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ मा समावेश ‘दुःखको काँडा’ बोलको गीत गाएका हुन्।
उनले, काठमाडौंका एक रेकर्डिङ् स्टूडियोमा यो गीत रेकर्ड गराएका छन्। गीतमा अर्जुन पोखरेलको संगीत छ। संगीतकार पोखरेल भन्छन्, ‘हामीले दि भ्वाइसमा सनिषको आवाज सुनेपछि चलचित्रको यो गीतमा सुहाउने आशा गरेर नै उनलाई अफर गरेका थियौं। उनको स्वरले गीत झनै दमदार बनेको छ।’ सनिषले पनि चलचित्रमा गीत गाउँदा खुशी व्यक्त गरे।
नेपाली चलचित्रमा पछिल्ला केही बर्षयता रियालिटी शोबाट जन्मिएका गायक–गायिकाको उपस्थिती बलियो बन्दै गएको छ। दीपक लिम्बु, इन्दिरा जोशी हुँदै निशान भट्टराई, प्रताप दास, अस्मिता अधिकारी लगायतले चलचित्रको गीतमा आवाज भरिरहेका छन्। साथै उनीहरु दर्शकको राम्रो माया बटुल्न सफल भएका छन्।
सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्र फागुण २३ गते रिलिज हुँदैछ। सनिषले आवाज भरेको गीतको भिडियो भने छायाँङ्कन भईसकेको छ। गीतलाई चाडै नै सार्वजनिक गर्ने निर्देशक तथा निर्माता थापाले जानकारी दिए। चलचित्रमा नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहेको छ।