काठमाडौं–चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको हिजो पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ। उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको हो। उनलाई नेपाल प्रहरीले सलामी दिएको थियो। केशवलाई श्रद्धाञ्जली दिनका लागि सूचना, प्रविधी तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटा पशुपति आर्यघाट पुगेका थिए। उनलाई १५ बर्षका छोराले दागवत्ती दिएका थिए।
भट्टराइको आइतबार राती ह्रदयघातबाट निधन भएको थियो। उनको शवमा सञ्चारमन्त्री बास्कोटाले नेपालको झण्डा ओडाएका थिए। यस्तै, कलाकार दीपक क्षेत्रीको पनि अन्तिम दाहा संस्कार पशुपति आर्यघाटमा गरिएको छ। दीपकको निधन शनिबार भएको थियो। चलचित्र क्षेत्रका दुई व्यक्तिलाई गुमाउन पर्दाको पिंडा चलचित्रकर्मीको आँखामा देखिन्थ्यो। चलचित्र विकास बोर्डमा श्रद्धाञ्जली दिन पुगेका चलचित्रकर्मी पशुपति आर्यघाट पनि पुगेका थिए। पुराना पुस्ताका अधिकांश कलाकार पशुपति आर्यघाटमा पुगेका थिए।
भट्टराई र क्षेत्रीको पार्थिव शरीरलाई पशुपति आर्यघाट लैजानु अघि चलचित्र विकास बोर्डको परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। विकास बोर्डको परिसरमा दुई चलचित्रकर्मीलाई श्रद्धाञ्जली दिनका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल पुगेका थिए। हिजो नै नेपाल संगीत उद्योग संघको अवार्ड कार्यक्रम पनि रहेकोले कतिपय कलाकारहरु आर्यघाट पुगेका थिए, भने कतिपयले कार्यक्रम चलाउनु पर्ने बाध्यता रहेको थियो।