काठमाडौं– पछिल्ला समय संगीतकार अर्जुन पोखरेल प्रेम गीतमा निर्विकल्प बनेका छन्। चलचित्रमा प्रेम झल्कने गीत चाहिएको खण्डमा, अधिकांश मेकरले सम्झने उनी एउटै नाम हुन्। अर्जुन पोखरेलद्वारा संगीतबद्ध धेरै रोमान्टिक गीतहरु सफल भएका छन्। दर्जनौ गीतले युट्युबमा करोड भन्दा बढी भ्यूज पाएका छन्।
तर, आफूले गरेको कामबाट अर्जुन भने खासै सन्तुष्ट छैनन्। उनलाई केही फरक गर्ने मन छ। तर, त्यो अवसर दिने निर्माता–निर्देशक भेट्न उनलाई एकदमै मुस्किल छ। अर्जुन भन्छन्, ‘निर्माता–निर्देशकहरु मलाई फलानो जस्तो गीत चाहियो भनेर माग्न आउनु हुन्छ। अनि हामीले बाध्य भएर त्यस्तै गीत बनाइदिनै पर्छ।’ त्यसको खासै महत्व नरहेको जस्तो लाग्छ। केही सिमित निर्देशक छन् जसले काम गर्न दिन्छन्। अर्जुन भन्छन्, ‘केही निर्देशकहरुले भने चलचित्रको परिवेश बताउनुहुन्छ।
म सोही परिवेश अनुसारको गीत तयार गर्न सक्छु। तर, त्यो अवसर दिने कमै हुनुहुन्छ।’ निर्देश सुदर्शन थापा र दिवाकर भट्टराइले काममा स्वतन्त्रता दिने उनको भनाई छ। अर्जुन पछिल्लो समय चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा काम गरेर सुन्तुष्ट छन्। उनले भने, ‘म्युजिकल लभ स्टोरी भनेर मात्र संगीत भएको छैन। चलचित्रको कथा नै संगीतसँग सम्बन्धित छ। त्यसैले मैले संगीतका हरेक कुरालाई यसमा प्रयोग गर्न पाएको छु। यस्तो भयो भने मात्र काममा मज्जा हुन्छ।’ अनि दर्शक र श्रोताहरुले पनि फरक स्वाद पाउँछन्।
फरक काम गर्ने जोश अर्जुनमा सधै नै हुने गर्दछ। उनी भन्छन्, ‘मलाई हलिउड–बलिउडका गीतहरु जस्तो ठुलो क्यानभासमा काम गर्ने मन छ। तर, यस्तो काम गर्नको लागि चलचित्रको विषयबस्तु पनि सोही प्रकारको हुन आवश्यक छ। गीतको छायाँङ्कनदेखि कलाकार छनोटमा पनि सम्झौता गर्नु भएन। तर, नेपालमा यस्तो कमै मात्र हुन्छ।’