एजेन्सी– बलिउडकी चर्चित नायिका करिना कपुर बलिउडमा केही बर्ष अघिसम्म नम्बर १ नायिकाको रुपमा राज गरिरहेकी थिईन्। उनको समयमा उनले बलिउडमा हैकम जमाएकी थिइन्। आज, उनको क्रेज पहिलेको जस्तो त छैन तर गुमेको पनि छैन।उनै, नायिकाले आफ्नो १९ बर्ष लामो बलिउड करिअरमा अडिसन दिएर चलचित्रमा काम गरेकी थिइनन्। तर, पहिलो पटक उनले चलचित्र ‘लाल सिंह चड्डा’ का लागि अडिसन दिएकी थिइन्।
‘चमेली, हिरोइन’ जस्ता नायिका केन्द्रित चलचित्रमा समेत काम गरेर आफ्नो अभिनयको छुट्टै पहिचान बनाएकी यी सुन्दरीले करिअरमै पहिलो पटक किन अडिसन दिइन् होला? भारतीय मिडियासँग कुरा गर्दै करिनाले भनिन्, ‘मैले आजसम्म अडिसन दिएको थिइनँ। न त कोहीले मलाई चलचित्रमा काम गर्नु अगाडि कुनै दृश्यमा अभिनय गर्न आग्रह नै गरेका थिए। तर, मैले ‘लाल सिंह चड्डा’का लागि अडिसन दिनुको एउटै कारण आमिर खान हुन्।’
करिनाले अगाडि भनेकी छिन्, ‘मलाई थाहा छ, चलचित्रलाई लिएर आमिर कति धेरै केन्द्रित हुन्छन्। मैले चलचित्रको कथा पढ्दा नै मेरो भूमिकामा म खरो रुपमा उत्रिन्छु भनेर सोचिसकेको थिएँ। आमिर आफ्नो भूमिका प्रति निकै गम्भिर हुन्छन्, मलाई उनको यो कुरा मनपर्छ।’ अडिसनको बिषयमा पति शैफअली खानले पनि सल्लाह दिएको करिनाले बताइन्। करिना भन्छिन्, ‘मलाई अडिसन दिदा रिजेक्ट हुन्छु कि भनेर डर लागेको थिएन।
शैफले पनि मलाई यो ठूलो कुरा होइन भनेर सुझाव दिएका थिए। हलिउडका कुनै पनि कलाकारले अडिसन विना चलचित्रमा काम पाउँदैनन्। शैफले मलाई तिमी जस्तो नायिकाले समेत अडिसन दिन थाल्यौ भने राम्रो हुन्छ भनेर सल्लाह दिएका थिए। यसकारण पनि मैले यो चलचित्रका लागि अडिसन दिएँ।’ अब दर्शकहरुलाई जिज्ञासा बढ्न थाल्यो करिना जस्तो नायिकाले अडिसन दिएर खेल्ने फिल्म कस्तो होला?