काठमाडौं– गत शनिबार बैबाहिक बन्धनमा बाँधिएका नायिका ऋचा शर्मा र लाबिम मलका जनरल म्यानेजर दिपेक्ष विक्रम राणाले बिहिबार काठमाडौंमा चलचित्रकर्मीहरुका लागि पार्टीको आयोजना गरेका थिए। पार्टीमा मिडियासँग कुरा गर्दै ऋचा र दिपेक्षले एक अर्काको कामलाई सम्मान गर्ने बताए।के तपाई ऋचाले चलचित्र क्षेत्रमा नै काम गरुन् भन्ने चाहनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा दिपेक्षले भने, ‘पक्कै पनि हामीले यो करिअर बनाउनका लागि लामो समयको मिहिनेत गरेका छौं। म उनको कामलाई सम्मान गर्छु। यसमा कुनै पनि रोकतोक छैन।’
नायिका ऋचा शर्माले यो जुनीका लागि आफू दिपेक्षको भएको बताइन्। उनले भनिन्‘,यो यात्रा अब सधैका लागि अगाडि बढाउन मैले दिपेक्षको हात समातेको छु। यो जुनी अब म उनकै हुँ।’ ऋचाले आफूलाई दिपेक्षको घर भित्रिदा मात्र बुहारी भएर गएको, बिहे गरेको महशुस भएको सुनाइन्। भनिन्, ‘म उहाँको घर भित्रिदा, उहाँको ममी ड्याडीले मलाई स्वागत गर्दा मात्र मलाई बिहे गरेको महशुश भयो। तर, उहाँहरुले मलाई बुहारी भएको महशुस भने गर्न दिनुभएको छैन।’
ऋचा र दिपेक्षले आफूहरु दुबै जना रमाइलो गर्ने स्वभावको भएको भन्दै काममा भने गम्भिर हुनुपर्ने बताए। ऋचाले आफूलाई भाग्यमानी संझिदै भनिन्, ‘मेरो कामलाई, मेरो पेशा र प्यासनलाई उहाँले वुझिदिनुभएको छ। यसैले, म उहाँसँग बिबाह बन्धनमा बाँधिएकी हुँ।’ दिपेक्षले भने ऋचा एकदमै व्यवहारिक भएकाले मन मिलेको सुनाए। हनिमुन योजनाको बिषयमा ऋचाले भनिन्,‘तत्काल त हामी रारा र मुस्ताङ जान चाहन्छौ। भिजिट नेपाललाई प्रमोट गरौं भन्ने पनि योजना हो।’
२ बर्ष लामो प्रेम सम्बन्धपछि ऋचा र दिपेक्षले बिहे गर्ने निर्णय लिएका थिए। गत मार्च महिनामा नै उनीहरुको मगनी भईसकेको ऋचाले बताईन्। करिब १ बर्ष लामो समय यसरी मगनी भएर बसेको कुरा कसरी गोप्य राख्नु भयो भन्ने प्रश्नमा उनले भनिन्। नेपालमा खोजमूलक पत्रकारिता नै छैन। यो कुरा गोप्य राख्न मलाई कुनै गाह्रो भएन।