तस्बिरः अनलाईन खबरबाट
काठमाडौं– चलचित्र बनाउने भन्ने कुरामा प्रत्येक निर्देशकको आ–आफ्नै शैली हुन्छ। निर्देशकको चलचित्र भन्ने भाषाले दर्शकलाई हलसम्म तान्न सबैभन्दा बढी भूमिका खेल्छ। नेपालमा प्रेमकथामा वर्षेनी ५० भन्दा बढी चलचित्र बन्छन्। तर, कमै मात्र निर्देशक छन् जसले आफूलाई यो विधामा अव्बल बनाएका छन्।
प्रेम कथामा बन्ने चलचित्रको निर्देशनमा अग्रपंक्तिमा निर्देशक सुदर्शन थापाको नाम आउँछ। ‘मेरो एउटा साथी छ देखि प्रेमगीत हुँदै म यस्तो गीत गाउँछु’ सम्म आइपुग्दा थापाले आफूलाई लभ स्टोरी चलचित्रमा आफुलाई प्रमाणित पनि गरिसकेका छन्।सुदर्शनको चलचित्रको अर्को विशेषता भनेको गीत संगीत पनि हो। गीत संगीतको छनोटमा सुदर्शन माहिर छन्। उनै, सुदर्शनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक भएको छ।
‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ। यो गीतको अडियो कर्णप्रिय छ। ‘प्रेमगीत, म यस्तो गीत गाउँछु’ मा जस्तै संगीतकार अर्जुन पोखरेल र निर्देशक सुर्दशन थापाको टिमअप यसमा पनि गज्जबको देखिएको छ। गीतको भाव अनुसार भिडियो पनि तयार पारिएको छ। भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। सौरभ लामाको छायाँङ्कन रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका पूजा शर्मा र नायक पल शाहलाई फिचरिङ गरिएको छ।
पल र पूजाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’ मा रुचाइसकेका छन्। भिडियोको छायाँङ्कन विभिन्न ५ वटा लोकेशनमा गरिएको छ । भिडियोलाई लोकेशन, कलाकारको ड्रेसअप र रामजीको कोरियोग्राफीले उत्कृष्ट बनाएको छ। शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेको यो चलचित्रमा दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका छ। यो गीतको छायाँङ्कन करिब ७ दिन लगाएर नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरिएको छ। सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन्।
रीच इन्टरटेन्मेन्ट र जीजीए ग्रुपले काठमाडौं र एफडी कम्पनीले काठमाडाैं बाहिर चलचित्रको वितरण गर्नेछ। साङ्गीतिक प्रेम कथामा तयार भएको यो चलचित्रमा सुरज आचार्य र सुदिप ढकाल निर्माण नियन्त्रकको रुपमा छन्। चलचित्रको स्थानिय व्यवस्थापकको रुपमा केवल तामाङ र हरि गुरुङ छन्। यो चलचित्र फागूणको २३ गतेबाट नेपालभर रिलिज हुने पक्का भएको छ।।
https://www.youtube.com/watch?v=lcSRp-y_kw0