काठमाडौं– कोटेश्वर जडिबुटीमा रहेको ‘पुष्पाञ्जली’ सिनेमा हलका सञ्चालक गोपाल कायस्थ हल बन्द गर्ने मनस्थितीमा पुगेका छन्। यसको मुख्य कारण हो, नेपाली चलचित्र नै चल्न छोड्नु। उनको हलमा यो बर्ष रिलिज भएका केही चलचित्रमा मात्र दर्शक आए।
‘पुष्पाञ्जली’ हलमा नेपाली चलचित्र मात्र लगाउँदै आएका कायस्थ अब हल बन्द गरेर अपग्रेड गर्ने मनस्थितीमा छन्। उनले भने, ‘अहिले मेरो हलमा माछा–माछा चलचित्र चलिरहेको छ। दर्शकको संख्या आधा दर्जन पनि छैन। ‘पोई पर्यो काले’ पछि यस्तो अवस्था छ। अब, हल कसरी चलाउने?’ अहिले, नेपाली चलचित्र मात्र लगाउँदै आएका हलमा दर्शक नआएर समस्या छ।
मल्टिप्लेक्स हलले त हिन्दी र अंग्रेजी चलचित्र चलाएर जसोतसो हल धानेका छन्। तर, सिंगल हलमा नेपाली चलचित्र हेर्ने दर्शकको अभाव हुन थालेको छ। उनले भने, ‘वर्षमा आधा दर्जन मात्र चलचित्र चल्छन्, अनि हल चलाउन समस्या हुँदैन? अनमोल केसी, प्रदिप खड्का जस्ता स्टार र ब्रान्ड बनाएका केही चलचित्र मात्र चल्ने गरेका छन्। वर्षमा सय वटा चलचित्र बन्दा आधा दर्जनमा पनि दर्शक नआउनु समस्या हो।’ त्यसैले सिंगल हल बन्द नै हुने अवस्थामा छन्।
अहिले देशभर मल्टिप्लेक्स हल खुल्ने क्रम बढेको छ। मल्टिप्लेक्स हलमा पनि केही स्टार र ब्रान्ड बनाएका चलचित्र र टिमका बाहेक अरुका चलचित्र चलेका छैनन्। तिहारपछि सिंगल हुन् या मल्टिप्लेक्स, कुनै नेपाली चलचित्रमा पनि दर्शक छैनन्। यसले, हल चलाउनै समस्या भएका हल संचालकहरुको तर्क छ। यसको मतलब नेपाली चलचित्र हेर्ने दर्शकहरु साँच्चिनै कमी भएका हुन त?