एजेन्सी– ह्याकरदेखि आक्रोशित ग्राहक वा सामाजिक संजालमा विरोधको सानो पोस्टले पनि व्यवसायमा ठूलो चोट पुग्न सक्छ। यसरी सामाजिक संजालले केही मिनेटमै व्यवसायिक ब्रान्डहरुमाथिको विश्वास चकनाचुर पार्न सक्छ।
रेपुटेसन म्यानेजमेन्ट कन्सल्टेन्सी लन्सन्सका डिजिटल परामर्शकर्ता पिट नट भन्छन् “कुनैपनि कम्पनीको प्रतिष्ठालाई सबैभन्दा ठूलो खतरा अहिले सामाजिक संजालबाटै छ। किनकी त्यसलाई गम्भीर रुपमा लिइएन भने वास्तवमै कम्पनीको आर्थिक र सामाजिक दुवै पक्षमा प्रत्यक्ष असर पर्नेछ।”
यसमा पनि ‘फेक न्युज’ वर्तमान व्यवसायहरुका लागि सबैभन्दा ठूलो चुनौति साबित भइरहेको छ। फेसबुक, ट्वीटर लगायतका संजालहरुले यस विरुद्ध विभिन्न कदम चलाएपनि अझै समस्याको पूर्ण समाधान हुन नसकेको पाइएको छ। जस्तै गत मे महिनामा मात्र सामाजिक संजालमा बेलायतको मेट्रो बैंकले आर्थिक कठिनाइहरुको सामना गरिरहेको भन्ने अफवाह फैलिएपछि कम्पनीको शेयारमा ११ प्रतिशतले गिरावट आएको हो। जेनेभास्थित इन्टरनेट सुरक्षा कम्पनीका लिया कोलोछेन्को भन्छन्, त्यसको परिणाम यो भन्दा खतरनाक हुन सक्थ्यो।
त्यसैगरी ह्याकरहरुले पनि सामाजिक संजालमा गलत समाचार प्रचार गरेर कम्पनीलाई ठूलो क्षति पुर्याउन सक्ने लिया बताउँछन्। उनले भने, ‘मानिलिनुहोस् उनीहरुले बीबीसीको अकाउन्ट ह्याक गरिदिए र इरानले आणविक बम खसाल्ने समाचार प्रकाशित गरे भने त्यसको असर हामीले कल्पना पनि गर्न सक्दैनौँ अझ सो समाचार अरुले पनि साभार गर्ने हो भने यसले अतुलनीय क्षति गराउनेछ।’
तर सामाजिक संजालका पोस्ट गलत भएमा मात्र ब्रान्डको नाम खराब हुँदैन। कहिलेकाहिँ सत्य कुराले पनि व्यापारमा सोच्न नसकिने चोट पुर्याउन सक्छ। जस्तै २०१६ मा टेस्लाका मालिक एलन मस्कले आफ्नो कम्पनी आगामी इलेक्ट्रिक कारका लागि प्यानासोनिक कम्पनीसँग काम गर्ने भन्दै ट्वीट गरेपछि ब्याट्री निर्माणकर्ता सामसुङको एसडीआइको बजार भाउ ५० करोडले घटेको थियो। यसरी अरुको पोस्टले मात्र होइन आफैँले पनि सामाजिक संजालमा लेख्दा ध्यान पुर्याएन भने त्यसले समस्या गराउने गर्दछ। यसअघि युएस बैंकले कम ब्याङ्क ब्यालेन्स भएका ग्राहकहरुले ट्याक्सी नचढेर र धेरै कफी नखाएर पैसा जोगाउन सक्ने भन्दै पोस्ट गरेपछि कम्पनीको चौतर्फी आलोचना भएको थियो।
त्यसैगरी ठगी गर्नेहरुले ब्रान्डको नाम चोरी गर्नाले पनि कम्पनीहरु खतरामा पर्न सक्छन्। जोन भन्छन् “क्षमतावान् बेइमानहरुले ठूला कम्पनीको नाम खराब गर्नकै लागि सामाजिक संजालमा ठगी गरिरहेका हुन्छन्। जस्तै उनीहरुले ‘अमेजोन सपोर्ट इन्डिया’ भन्ने अकाउन्ट ट्वीटरमा सुरु गरेर हराएका सामानबारे खबर गर्ने ग्राहकहरुबाट पैसा उठाउन सक्छन्।”
त्यस्तै अन्जान ग्राहकका पोस्ट अरुले भेटेर शेयर गर्दा पनि उत्तिकै हानि पुग्ने गर्दछ। ग्लोबल पिआर एजेन्सी फ्लेइसमनहिल्लार्डका सोसल मिडिया निर्देशक क्लेर टाउनहिल भन्छन् “कस्टुमर सर्भिसको जवाफ पाउन सामाजिक संजाल सबैभन्दा प्रभावकारी तरिका हो भन्ने ग्राहकहरुले पनि बुझिसकेका छन्। त्यसैले सामाजिक संजालमार्फत सिधा प्रहार गर्नुले कम्पनीको आपूर्तिमा समस्या आउनुका साथै लोकप्रिय सामानमा समेत बदलाव आउन सक्छ।”
बेलोरसियन सोसल मनिटरिङ कम्पनी, अवाइरोकी उपाध्यक्ष मासा मक्सिमाभा भन्छिन् “अनलाइन रेपुटेसन व्यवस्थापन भनेको नकारात्मक प्रतिक्रियालाई चाँडो भन्दा चाँडो सुल्झाउनु हो ताकि पछि गएर त्यो संकटमा परिणत नहोस्।”
यसैकारण सधैँ तयार र सतर्क रहनुपर्ने अनि उचित योजना पनि आवश्यक रहेको उनको भनाइ छ। तर त्यसो भन्दैमा ससानो कुरामा पनि हामीले ‘ओभर रियाक्ट’ जनायौँ भने फेरि अर्को समस्या उत्पन्न हुन सक्छ। सकेसम्म नकारात्मक टिप्पणीलाई आफ्नो पक्षमा पार्ने प्रयास गर्नु नै व्यवसायका लागि उपयुक्त हुने विश्लेषकहरु बताउँछन्। बीबीसी