कास्की । पर्यटकको आवागमन बढाउने उदेश्यले कास्कीको अन्नपूर्ण गाउँपालिका-७, लान्द्रुकमा ‘हनी हन्टिङ फेस्टिभल २०७९’ हुने भएको छ। मङ्सिर २७ र २८ गते ‘हनी हन्टिङ फेस्टिभल २०७९’ आयोजना गर्न लागिएको फेस्टिभलका संयोजक कमल गुरुङले बताए ।
वर्षमा दुई पटक मोदी खोलाको किनारस्थित कोटेसाङ भिरबाट मह निकालिने भए पनि यो वर्षको दोस्रो सिजनमा महोत्सव नै गरेर स्थानीयले मह काढ्दै छन् । प्रत्येक वर्ष कात्तिक ९, मङ्सिर र वैशाख-जेठमा मह काढिन्छ । यसपालि दुई दिने महोत्सव गरेरै मह काढेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।
गाउँकै अनुभवी ९ देखि १३ जना भिरौटेको टोली मिलेर मह काढ्ने जनाइएको छ । महोत्सव अवधिमा परम्परागत नौमती पञ्चेबाजा, पाहुनालाई स्थानीय धार्मिकस्थल क्युप्च र दूधे बराहको दर्शनको व्यवस्था र स्थानीय खानाको प्रवर्द्धनका कार्यक्रम समावेश गरिएको वडा सदस्य राम गुरुङले जानकारी दिए ।