खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र बनाएर गएको ५ मेग्नेच्युडको भूकम्पको क्षति आकलन सर्वेक्षण सुरु गरिएको छ ।
गत १५ साउनमा गएको भूकम्पका कारण पुगेको क्षतिको विवरण सङ्कलनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षति आकलन सर्वेक्षण सुरु गरेको हो ।
भूकम्पको इपिसेन्टर मात्तिमविर्ता बाहेकका प्रभाव क्षेत्र छुटाउने, बढी क्षति भएका र कम क्षति भएका घरको संरचना बारे अध्ययन गर्ने, क्षति पुगेका घरको ‘रि–कन्ट्रकसन र रिकभरी’ लगायतका बारेमा अध्ययन गर्दै क्षति आकलन सर्वेक्षण सुरु गरिएको राष्ट्रिय आवास तथा बस्ती उत्थानशील समन्वय मञ्चका इन्जिनियर प्रकाश बस्नेतले बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट क्षति आकलन सर्वेक्षण सुरु गरेको हो । भूकम्पको इपिसेन्टर साकेला गाउँपालिकामा क्षति आकलन सर्वेक्षणका लागि आइतबार प्राविधिक सहितको टोली पुग्ने जनाइएको छ ।