काठमाडौँ । सरकारले नेपालमा रहेका र विगतमा बिभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरूलाई परिचयपत्र दिने तयारी गरेको छ । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो जानकारी दिएका हुन् ।
‘छुटेकाहरूलाई उनीहरूको परिचयपत्र बनाउने सन्दर्भमा गृहकार्य भइराखेको छ । उनीहरूले पनि नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको छ’ गृहमन्त्री खाँणले भने ।
तर, कहिलेदेखि परिचयपत्र दिने ? त्यस्ता परिचय पत्र पाउनबाट छुटेका शरणार्थीहरू कति छन रु भन्ने विषयमा गृहमन्त्री खाँणले कुनै जानकारी दिएका छैनन् । नेपालमा रहेका सबैको मानव अधिकारका विषयमा सरकार सजग रहेको उनले बताए । मन्त्री खाँणले यसैमा थपे, ‘मान्छेहरू दुनियाँका जुनसुकै कुनामा जन्मिएको भएपनि उनीहरु मानव हुन्, नागरिकहरू नै हुन् । उनीहरूको पनि मानव अधिकार रहेको छ । नेपालमा पनि बिभिन्न काल खण्डमा बिभिन्न भूभागबाट आएर बसेका शरणार्थीहरू हुनुहुन्छ । ति शरणार्थीहरू पनि मानव नै हुन् । त्यसकारण उनीहरूको जीवन यापन सहज होस्, उनीहरूले मानव अधिकार प्राप्त गरुन् भन्ने नै सरकारको चाहना छ ।’
नेपालमा बसोबास गर्दै आएका शरणार्थीहरूका सन्तानहरू नेपालमै जन्मिएका र हुर्किएका उल्लेख गर्दै मन्त्री खाँणले उनीहरूप्रति नेपाल सरकार र नेपाली समाजको दायित्व रहेको बताए ।