काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी भएको बताएका छन्।
सोमबार काठमाडौँमा २१३ औँ भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा मात्र सीमित नराखी, त्यसलाई आत्मसात् गर्दै भाषा र साहित्यलाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिएका हुन्।
सभामुख अर्यालले आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र परिवर्तनशील सामाजिक संरचनाका बीच हाम्रो मौलिक पहिचान र संस्कृतिलाई जोगाउनु चुनौतीपूर्ण रहेको उल्लेख गरे। भानुभक्तले देखाएको सरलता, स्पष्टता र जनस्तरसँगको सामीप्यता आजको समयमा पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै उनले युवा पुस्तालाई नेपाली साहित्यप्रति आकर्षित गर्नुपर्ने बताए।
उनले सृजनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै भानुभक्तका आदर्शलाई समयसापेक्ष रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको औँल्याए। भानुभक्तको सम्मानमा गरिने हरेक कार्य नेपाली राष्ट्रियताको रक्षा र मौलिकताको परिचायक हुने उनको भनाइ छ।
कार्यक्रममा सभामुख अर्यालले भने, ‘आजको दिन हामीले भानुभक्तलाई सम्झनु मात्र होइन, उहाँको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने संकल्प लिनु आवश्यक छ।’
आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच पनि हाम्रो भाषा, संस्कृति र पहिचानलाई जोगाउनु तथा उन्नत बनाउनु सामूहिक जिम्मेवारी भएको उनले उल्लेख गरे।
उनले थपे, ‘भानुभक्तले देखाएको सरलता, स्पष्टता र जनतासँगको निकटताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ। हामीले युवा पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ।’ सभामुख अर्यालले सृजनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गरेर अघि बढ्नुपर्ने बताए। भानुभक्तको सम्मानमा गरिने कार्यहरू नेपाली राष्ट्रियताका पहरेदार कर्म र नेपाली मौलिकताका परिचायक भएको उनले बताए।
सोही अवसरमा सभामुख अर्यालले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुऱ्याउने दुई स्रष्टालाई सम्मान समेत गरे। सम्मानित हुनेहरूमा वरिष्ठ साहित्यकार महेश्वर शर्मा र संस्कृतिविद् डा. आना एम सिस्टर रहेका छन्।