काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्माले पछिल्लो समय देशका विभिन्न स्थानमा आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आत्मदाहका घटनाले नागरिकको मानसिक अवस्था र राज्यको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको उल्लेख गरिन्। देशभर आत्मदाह प्रयासका घटना बढिरहेका छन्। यस्ता घटनाले नागरिकको मानसिक स्वास्थ्यसँगै हाम्रो राज्य प्रणालीप्रति पनि गम्भीर प्रश्न खडा गरेका छन्,’ उनले भनिन्। सांसद विश्वकर्माले नीति सुधारका नाममा सरकारले हतारमा निर्णय गरिरहेको हो कि भन्ने आशंका व्यक्त गर्दै कानुन निर्माण गर्दा त्यसको प्रभाव प्रत्यक्ष रूपमा नागरिकमाथि पर्ने भएकाले सरकार थप जिम्मेवार र संवेदनशील हुनुपर्ने धारणा राखिन्। उनले सरकारले बनाइरहेका नीति तथा कानुनबाट नागरिकहरू अन्यायमा परिरहेका छन् कि छैनन् भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याइन्।
नागरिकले आफ्ना पीडा सुनाउन र न्याय पाउन नसकेर आत्मघाती कदम चाल्नुपर्ने अवस्था आउनु दुःखद भएको उनको भनाइ थियो। सुशासनलाई प्राथमिकतामा राख्ने सरकार अब नागरिकको मानसिक स्वास्थ्यलाई पनि राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्न अग्रसर हुनुपर्ने उनले बताइन्। राजनीतिक जिम्मेवारीसँगै सामाजिक र नैतिक उत्तरदायित्वलाई पनि समान रूपमा आत्मसात् गर्नुपर्नेमा उनले जोड दिइन्। बैठकमा उनले हालै ज्यान गुमाएका गणेश नेपाली, विवेश मण्डल र अस्विन राउतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्ता दुःखद घटनाको पुनरावृत्ति रोक्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याइन्।