काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई आएका बजेटसँग सम्बन्धित महत्त्वपूर्ण तीन वटा विधेयकहरू प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार आर्थिक वर्ष २०८३÷८४ को बजेट कार्यान्वयनका लागि अनिवार्य मानिएका विधेयकहरू प्रमाणीकरण गरेका हुन् । जसमा राष्ट्रपति पौडेलले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ लाई प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयकहरू प्रमाणीकरण गरेका हुन् ।
