नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने भएको छ । त्यसका लागि समन्वय गर्न पार्टीको केन्द्रीय कमिटीसँग माग गर्ने लिखित निर्णयसमेत भएको छ ।
एकीकृत समाजवादी पार्टी प्रदेश सभा संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीका अनुसार प्रदेश सभामा ठूलो दल भएपछि सरकारको नेतृत्व पाउनुपर्ने माग आएपछि केन्द्रलाई पत्र पठाउने निर्णय गरिएको हो ।
एकीकृत समाजवादी पार्टीको समर्थनमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अहिले नेकपा माओवादी केन्द्रले गरिरहेको छ । ५२ सदस्यीय प्रदेशसभामा १४ सांसदसहित एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल छ ।
प्रदेशसभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका सभामुखसहित ११, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १–१ सांसद छन् ।