काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि तल्लो तहदेखि हुने अधिवेशनहरूको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
केन्द्रीय निर्वाचन समितिको मंगलबार बसेको बैठकले काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनलाई यथावत् राख्दै वडा, गाउँ–नगर तथा क्षेत्रीय अधिवेशनको मिति परिमार्जन गरेको हो।संशोधित तालिकाअनुसार गाउँ नगर वडा अधिवेशन असोज ३ र ४ गते, गाउँ तथा नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते हुने भएको छ।यसअघि वडा अधिवेशन भदौ २४ गतेदेखि सुरु गर्ने तयारी थियो। तर रसुवाको भोटेकोशीमा आएको बाढी र त्यसबाट भएको ठूलो क्षतिलाई ध्यानमा राख्दै तालिका परिवर्तन गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।यता, केन्द्रीय महाधिवेशनको मिति भने परिवर्तन गरिएको छैन। कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा नै हुनेछ।बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा स्थानीय तह तथा निर्वाचन अधिकृतसँग समन्वय गरेर अधिवेशन गरिने बताइएको छ।विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन पनि असोज १० गतेभित्र सक्नुपर्नेछ। जिल्ला र प्रदेश अधिवेशनको विस्तृत कार्यतालिका भने पछि सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।