काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका सहिदहरूको बलिदानलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
जेनजी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सुनारले सुशासन र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा ज्यान गुमाएका युवाको योगदानले देशमा परिवर्तनको आधार तयार गरेको बताए।उनले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कडाइका साथ अघि बढ्ने दाबी गर्दै पूर्व वा बहालवाला जुनसुकै पदाधिकारी भए पनि भ्रष्टाचार प्रमाणित भए कारबाही हुने बताए। एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको प्रमाणित भए पनि कसैलाई छुट नदिने उनको भनाइ थियो।सहिद परिवारलाई सम्बोधन गर्दै सुनारले आफ्ना सन्तान गुमाएको पीडालाई कमजोरी नठान्न आग्रह गरे। सहिदका सपना र योगदानले देशमा नयाँ सुशासनको बाटो खोल्ने उनको दाबी थियो।आन्दोलनका घाइते, सहिद परिवार र सहभागीलाई निराश नहुन आग्रह गर्दै उनले रास्वपाको नेतृत्वमा बनेको सरकारले उनीहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए।आफूहरू राजनीतिक रूपमा नयाँ भए पनि भ्रष्टाचारमा नलागेको दाबी गर्दै सुनारले देशमा सुशासन कायम गर्ने र भ्रष्टाचारको हिसाब–किताब गर्ने कामबाट सरकार पछि नहट्ने स्पष्ट पारे।