काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई दिएको जिम्मेवारी र विश्वासलाई निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौंमा आयोजित जेनजी सहिद स्मृतिसभालाई सम्बोधन गर्दै गुरुङले जेनजी पुस्ताले परिवर्तन र सुशासनका लागि राखेको अपेक्षा पूरा गर्न आफू इमानदारीपूर्वक अघि बढ्ने बताए।उनले पार्टी सभापति लामिछानेले सरकारमा रहेर सुशासनको नमुना प्रस्तुत गर्ने जिम्मेवारी आफूलाई दिएको उल्लेख गर्दै त्यसलाई कमजोर हुन नदिने स्पष्ट पारे।गुरुङले आफू अहिले मन्त्रीको भूमिकामा मात्रै नभई देशका नागरिकको दाइ, भाइ र छोराको भूमिकामा समेत रहेको बताए। आगामी दिनमा देशमा फेरि हिंसा र गोली चल्ने परिस्थिति सिर्जना हुन नदिने उनको दाबी थियो।उनले जेनजी आन्दोलनका सहिदहरूको योगदानलाई सम्मान गर्दै उनीहरूले देखाएको परिवर्तनको अपेक्षा पूरा गर्नु सरकारको जिम्मेवारी भएको बताए।