गण्डकी– गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आज पोखरा–१६ बाटुलेचौरस्थित महेन्द्र तथा चमेरो गुफाको आज अध्ययन अवलोकन गरेका छन्।
प्राकृतिक गुफाको रुपमा परिचित विन्ध्यवासिनी माविको व्यवस्थापन तथा संरक्षकत्वमा सञ्चालित महेन्द्र गुफाको अवलोकनपश्चात प्रदेश प्रमुख गुरुङले यसको व्यवस्थित विकास गर्न सुझाव दिए।
महेन्द्र गुफा विश्वकै प्रमुख पर्यटकीयस्थल बन्न सक्ने आधार प्रसस्त रहेको भन्दै उनले सबैको प्रयासबाट यसको थप सौन्दर्यकरण बढाउनतर्फ लाग्नुपर्नेमा जोड दिए। सो अवसरमा प्रदेश प्रमुख गुरुङलाई समितिका संयोजक गुरुदत्त भट्टराईले गुफाको वर्तमान अवस्था, विकास निर्माण तथा व्यवस्थित विकासको गुरुयोजनाका विषयमा जानकारी गराए।
उनले गुफा विकासका लागि प्रदेश सरकारको महत्वपूर्ण भूमिका रहेको बताउँदै, थप विकासका लागि पनि ध्यानाकर्षण गराए। कोभिड महामारीको दोस्रो लहरका कारण वैशाख १४ गतेदेखि बन्द रहेको महेन्द्र तथा चमेरो गुफा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर यही असोज १ गतेबाट सञ्चालनमा आएको बताउँदै यसअघि पनि कोभिड महामारीका कारण नौ महिना गुफा बन्द भएको थियो।
रासस