नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतीय ‘एसएसबी’ को संलग्नता रहेको बताउँदै भारतलाई नेपालसँग तत्काल क्षमायाचना गर्न माग गरेका छन्।
राष्ट्रिय सभाको विशेष समयमा बोल्दैँ श्रेष्ठले भारतलाई आफ्नै अग्रसरतामा उक्त घटनालाई लिएर नेपालसँग माफी माग्नुका साथै दोषी उपर कडा कारबाही गनुपर्ने माग गरे। उनले भने, “हाम्रो नेपालको आन्तरीक मामलामा हस्तक्षेप गर्ने प्रवृती कायम छ, नेपाली भूमीलाई आफ्नो सामरीक रणनीतिका लागि उपयोग गर्ने प्रवृति कायम नै छ, त्यसकारण हामी सचेत हुनु पर्छ।”
उनले भारतलाई चेतावनी दिँदै हेपाहा व्यवहार र उत्पीडन सैह्य नहुने बताएका छन्। “भारतीय सीमा सुरक्षा बलका व्यक्तिहरुकै कारणबाट, तुइनको तार काटिदिएकै कारणबाट धामी महाकाली नदीमा बेपत्ता भएका हुन्,” उनले भने, “म क्रुर, अमानवीय यस्तो कार्यको घोर निन्दा र भर्त्सना गर्दछु। सरकारले सो घटनाबारे छानविन समिति बनाएर परिपक्व कुटनीतिमार्फत संवाद गरौं भन्ने प्रयास थालेको भन्दै आवश्यक पर्दा जस्तोसूकै कदम चाल्ने प्रतिबद्धता पनि सरकारका तर्फबाट आएकोमा स्वागत गर्दछु।”
उनले आगामी दिनहरुमा पनि यस्ता खालका घटनाहरु नदोह्राउन भारतसँग प्रतिबद्धता लिन सरकारलाई अनुरोध गरेका छन्।