नेपाली कांग्रेसका सभापति मंगलबार साँझ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । प्रधानमन्त्रीमा देउवाको नियुक्तिसँगै सानो मन्त्रिमण्डल बनाउने तयारी छ ।
त्यसमा कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष छलफलमा जुटेका छन् । सोमबार साँझैदेखि मन्त्रीको छनौटका लागि छलफलमा जुटे पनि अहिलेसम्म कुनै पार्टीले टुङ्ग्याउन सकेका छैनन् ।
सम्बन्धित समाचारः
ओली हट्दै, देउवा प्रधानमन्त्रीको शपथ लिँदै
अदालतको आदेशपछि देउवा सोमबार साँझैदेखि मन्त्री छनौटका लागि व्यस्त छन् । त्यस विषयमा देउवाले आफूनिकट नेतालाई बोलाएर छलफल गरेका छन् भने आकांक्षी नेता तथा अन्य कांग्रेस नेताहरूको देउवा निवासमा भीड छ ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि आन्तरिक छलफल गर्दैछन् । सिटौलाले एक बजे आफू पक्षीय नेताहरुलाई निवास बोलाएका छन् ।
कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने सम्भावना छ ।
मन्त्रीको नामबाट छलफल गर्न बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाउन सकेन । उक्त बैठकले देउवासँग छलफलपछि मात्रै मन्त्रीको टुंगो लगाउने जनाएको छ ।
बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘सरकारको विषयमा कांग्रेससँग थप छलफल गर्ने निर्णय भएको छ, त्यसपछि मन्त्री तोक्न सकेसम्म अर्को स्थायी कमिटीको बैठक बोलाउने, नभ्याइए अध्यक्षले नै टुंगो लगाउने निर्णय भएको छ ।’
त्यसका लागि माओवादीका अध्यक्ष प्रचण्ड देउवा निवास पुगिसकेका छन् ।
मन्त्री छनौटका विषयमा छलफल गर्न जसपाले दिउँसो एक बजे केन्द्रीय कार्यकारिणी सदस्यहरुको बैठक बोलाएको छ ।
माओवादी केन्द्र जनार्दन शर्माको नेतृत्वमा रजसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने सम्भावना रहेको स्रोतले जनाएको छ । यादव उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्ने चर्चा छ ।
राष्ट्रिय जनमोर्चाले भने सरकारमा जानेबारे केही छलफल गरेको छैन । पार्टीकी उपाध्यक्ष दूर्गा पौडेलले आजै सरकारमा सहभागी हुने सम्भावना कम रहेको बताएका छन् ।