नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीको शपथ लिँदैछन् ।
देउवा पाँचौंपटक प्रधानमन्त्री बन्न लागेका हुन् । यसअघि उनले मुलुकको सत्ता चारपटक नेतृत्व गरिसकेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार आजै देउवाको नियुक्ति र साँझ ५ शपथ ग्रहणको कार्यक्रम तोकिएको छ ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले अदालतको फैसला प्राप्त भएकोले प्रधानमन्त्रीमा देउवाको नियुक्ति र शपथ आजै गरिने बताए ।
सर्वोच्च अदालतले सोमबार संसद पुनःस्थापना गर्दै देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
योसँगै देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।
आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिँदै छन् ।