नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एमाले) मा रहेका नेताहरु सांसद पदबाट पदमुक्त भएपछि दल नै खारेज गर्न माग गर्दै निर्वाचन आयोग पुगेका छन् ।
माओवादी केन्द्र पार्टी नै अवैधानिक भएको भन्दै उनीहरुले अवैधानिक पार्टीले गरेको कारवाही फुकुवाको माग गर्दै आयोग गएका छन् ।
लामो समय अधिवेशन नगरेको भन्दै माओवादी केन्द्र अवैधानिक रहेको दावीसहित रामबहादुर थापा ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेता आयोग पुगेका हुन् ।
माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा निवेदन दिएको नेता रामचन्द्र मण्डलले जानकारी दिए ।
गत फागुन २३ मा सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन गरी साविककै नेकपा एमाले र माओवादी केन्द्र व्यूँताइदिएपछि माओवादी नेता तथा सांसदहरु एमालेतिर लागेका थिए । माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका नेताहरु रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशङ्कर चौधरीको सांसद पद गुमेको थियो ।
माओवादी केन्द्रले लामो समयसम्म महाधिवेशन नगरेको, दल ऐनअनुसार कुनै प्रक्रिया पूरा नगरेको अवैधानिक दल भएकाले त्यस्तो दलले गरेको कारवाही पनि अवैधानिक हुने उनीहरूको तर्क छ ।