काठमाडौँ । मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरी स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिने (पक्राउ गर्ने) तयारी भइरहेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिन लागेको जनाइएको छ।
पक्राउको तयारी हुनुअघि आइतबार नै आयोजित एक पत्रकार सम्मेलनमा प्रसाईंले वर्तमान शासन व्यवस्थाप्रति तीव्र असन्तोष व्यक्त गरेका थिए। उनले लोकतान्त्रिक भनिएको वर्तमान व्यवस्थामा नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोसिएको र आधारभूत अधिकारहरूसमेत कुण्ठित गरिएको आरोप लगाएका थिए।
पत्रकार सम्मेलनकै क्रममा उनले वर्तमान सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने औपचारिक घोषणासमेत गरेका थिए। आन्दोलनको घोषणा गरेको केही समयभित्रै प्रहरी टोली उनको निवास पुगेपछि स्थिति तनावपूर्ण बनेको छ।