काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विभाजन अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यसहित नयाँ अभियान सुरु गरिने भएको छ। ‘देश र कांग्रेस जोड्ने’ नाम दिइएको अभियानमार्फत पार्टीका विभिन्न धारबीच संवाद र सहकार्य बढाउने पहल गरिने जनाइएको छ।
नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, रञ्जित कर्णलगायत नेताहरूको अगुवाइमा सञ्चालन हुने अभियानको औपचारिक सुरुआत साउन २० गते हुने ‘राष्ट्रिय एकता भेला’ बाट गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
अभियानका संयोजकहरूले पालिका, प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित गरी देशभरका कांग्रेस कार्यकर्तालाई एकै मञ्चमा ल्याउने लक्ष्य राखिएको बताएका छन्।
अभियान पक्षले नेपाली कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक प्रणाली नै कमजोर बन्ने र प्रतिगामी शक्तिहरू बलियो हुने जोखिम बढ्ने निष्कर्ष निकालेको छ।
अभियानद्वारा जारी विज्ञप्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिरहनु लोकतन्त्रका लागि पनि चिन्ताको विषय बनेको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले यो अभियान सुरु गरिएको जनाइएको छ।
अभियानका अगुवाहरूले यो पहल कुनै गुट, व्यक्ति वा पद केन्द्रित नभई पार्टीभित्र एकता, संवाद र लोकतान्त्रिक संस्कृतिलाई सुदृढ बनाउने साझा प्रयास भएको स्पष्ट पारेका छन्।