तुलनात्मक रुपमा सहज बनाउँदै काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय गरेको हो।
थप गरिएको निशेधाज्ञाको अवधिमा खाद्यान्नका पसलहरु ११ बजेसम्म खोल्न पाइने छ, अनलाइन डेलिभरी गर्न पाइने छ, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने छ, हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने छ, कृषि कार्य सञ्चालन गर्न दिइने छ, भिसा लिनका लागि सहजिकरण गरिने छ।
हालै निर्माणका कार्यलाई सहजिकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए। यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो। तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन।