नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नवनियुक्त अध्यक्ष माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठकले गरेका निर्णय निर्वाचन आयोगमा बुझाएको छ।
नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, मुक्तिनारायण प्रधानसहितका नेताहरूको टोली निर्वाचन आयोगमा पुगेर पार्टी केन्द्रीय कमिटीको निर्णयबारे लिखित जानकारी दिएका हुन्।
प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट निष्कासन गरिएको र अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरिएकोसहितका निर्णय आयोगलाई बुझाइएको एक नेताले बताए।
नेकपाले आयोगमा बुझाएको पत्रमा पार्टीका ४ सय ४७ सदस्यमध्ये केन्द्रीय कमिटीका २ सय ९० जनाको नाम उल्लेख गरिएको छ। जसमध्ये २ सय ८७ जनाको हस्ताक्षर समावेश छ।
पार्टीका ३ जना केन्द्रीय सदस्य काठमाडौं बाहिर रहेको एक नेताले बताएका छन्। यसअघि प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकबाट प्रधानमन्त्री रहेको अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट हटाएर वरिष्ठ नेता नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेकोछ।
यसैबीच, निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपाका दुवै पक्षको निवेदनको जाँचबुझ गर्ने बताएका छन्। छानवीनपश्चात निर्णय दिने जानकारी उनले दिएका छन्।