काठमाडौं– सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको यस वर्षको दसैं खर्चबापत प्राप्त रकम कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि मन्त्रिपरिषद्ले गरेको निर्णयको मर्मअनुसार यस वर्षको दसैं खर्चबापत प्राप्त रकम कोरोना उपचार कोषमा जम्मा गर्न अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिए ।
सरकारले सबै नागरिकको स्वास्थ्य उपचारको व्यवस्था मिलाएको, स्वास्थ्य संरचनाको विस्तार गरेको, परीक्षणको दायरा फराकिलो बनाएको र आर्थिक रुपले विपन्न, असहाय, अशक्त, एकल महिला, अपाङ्गतायुक्त, ज्येष्ठ नागरिकलगायत वर्गका निम्ति निःशुल्क उपचारको व्यवस्था गरेको सरकारका प्रवक्ता गुरुङले बताए । राज्यले कसैलाई पनि उपचारबाट वञ्चित नहुने नीति लिएको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसको प्रबन्ध मिलाएको समेत स्पष्ट पारे ।