काठमाडौं– कोभिड–१९ महामारीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजना निर्माण भएर सञ्चालनमा आएको
छ । विमानस्थलको क्षमता विस्तारअन्तर्गत ३०० मिटर धावनमार्ग, जहाज पार्किङ स्थल, अत्याधुनिक प्रस्थान हल र आगमन हल निर्माणको काम सकिएको हो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ती चार आयोजनाको उद्घाटन गरे । मन्त्री भट्टराईले महामारीबीच आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजीकरणको परिणामस्वरुप विमानस्थलको महत्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न भएको बताए । ‘सङ्क्रमणको जोखिम मोलेर आत्मवल र आत्मविश्वासका साथ निरन्तरताको प्रयासपछि चारै आयोजनाको परिणाम आएको छ । विमानस्थलको क्षमता विस्तारका साथै सेवा आधुनिकीकरणको कामलाई आगामी दिनमा पनि जारी राखिनेछ,’ पर्यटनमन्त्रीले भने ।
हालैको मन्त्रिपरिषद् वैठकले अन्तर्राष्ट्रिय उडान सङ्ख्या थप्ने निर्णय गर्नुका साथै असोज ५ गतेदेखि आन्तरिक हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेकाले विमानस्थल अब विस्तारै पुरानै लयमा फर्किने उनले बताए । पर्यटनमन्त्री भट्टराईले भने, ‘अब विमानस्थल छिट्टै पुरानै लयमा फर्किनेछ, विमानस्थलको चहलपहल विस्तारै बाक्लिनेछ ।’
पर्यटनमन्त्री भट्टराईले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित र भरपर्दो उडानका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विमानस्थलको विस्तारको संरचनाले विमानस्थलको चाप कम गर्नाका साथै जहाज आकाशमा ‘होल्ड’ हुने अवस्थामा कमी आउने बताए ।