चितवन– नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना संक्रमणका कारण हालसम्म सात प्रतिशत पत्रकारको रोजगारी गुमेको बताएका छन् । नेपालका सञ्चारगृह व्यावसायिक हुन नसक्दा कोरोना संक्रमणको छोटो अवधिमा धेरै नोक्सान भएको उनले बताए ।
कोरोना संक्रमणले देशैभरका पत्रकार र सञ्चारगृह प्रभावित भएपछि महासंघको मिसन टोली देशव्यापी रूपमा परिचालन भएको छ । आचार्यका अनुसार बीस पत्रकारमा कोरोना संक्रमण देखिएकामा १८ जना निको भएका छन् । लकडाउनको अवधिमा देशभरका ७ सय छापा माध्यम बन्द भएको भन्दै उनले कोरोनाको प्रभावका कारण पत्रकार र सञ्चार गृह प्रभावित हुने क्रम बढ्दो रहेको बताए । ‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अग्र मोर्चामा रहेका छन्,’ उनले भने, ‘हामी आम जनताका समस्याका बारे बोलिरहेका छौं भने जनतालाई सही सूचना के हो भनेर पनि प्रवाह गरिरहेका छौं ।’
आचार्यले दुई थरी सञ्चारकर्मी रहेको भन्दै एक थरीले स्वरोजगारमूलक ढंगले पत्रकारिता गरिरहेको र अर्को थरी ठूला सञ्चार गृहमा काम गरिरहेको बताए पचास प्रतिशतभन्दा बढी पत्रकार आफैंले अनलाइन, रेडियो, टेलिभिजन, पत्रिका चलाएको भन्दै उनले ती मिडिया चलाएका पत्रकारमा थोरै समस्या देखिए पनि ठूला मिडियामा धेरै समस्या देखिएको बताए ।
उनले भने, ‘ठूला मिडियामा काम गर्ने कतिपय पत्रकारले तलब भत्ता नपाएको, कामबााट निष्कासित हुनुपरेको, आधा तलबमा काम गर्नुपरेको पाइयो ।’ उनले मिडिया हाउसलाई पनि सहुलियत पूर्ण ऋण उपलब्ध गराउन आग्रह गरेका छन् ।