काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई मनोसामाजिक सहयोग उपलब्ध गराउन नेपाली कांग्रेसले आवश्यक जनशक्ति तयार पारेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बुधबार विभिन्न क्षेत्रका ४६ जनालाई मनोसामाजिक परामर्शसम्बन्धी प्रशिक्षण दिएको हो । प्रशिक्षणपछि सहभागीहरू बाढीका कारण विस्थापित भई विभिन्न आश्रयस्थलमा बसिरहेका परिवारहरूबीच पुगेर उनीहरूको मानसिक अवस्था बुझ्ने तथा आवश्यक मनोसामाजिक परामर्श दिने बताइएको छ ।
प्रशिक्षणका क्रममा बाढी प्रभावित नागरिकले सामना गरिरहेका मानसिक तनाव, त्रास तथा अन्य मनोसामाजिक समस्याबारे समेत छलफल गरिएको प्रतिष्ठानका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । कार्यक्रममा डा. प्रभाकर पोखरेल, डा. रविन बस्नेत तथा मनोविद्हरू कपिल शर्मा, गृष्मा पनेरू र प्रकाश लामिछानेले सहजीकरण गरेका थिए ।