काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश संसदीय दलले आफ्नै पाँच जना प्रदेशसभा सदस्यविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।
पार्टीको निर्देशनअनुसार जारी गरिएको ह्विप पालना नगरेको आरोपमा उनीहरूलाई प्रदेशसभा सदस्य पदबाट हटाउन सभामुखसमक्ष सिफारिस गरिएको हो।कारबाहीका लागि सिफारिस हुनेमा पूर्वसभामुखसमेत रहेका भुवनकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामा छन्।राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक डम्बर तामाङले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गर्दै पाँचै जनामाथि कारबाही गर्न माग गरेका हुन्।संसदीय दलको निर्णयअनुसार राप्रपा बागमती प्रदेश सरकारमा सहभागी भएको थियो। त्यसपछि मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा पार्टीका सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित भई सरकारको पक्षमा मतदान गर्न निर्देशन दिइएको थियो।तर पाँच सांसद उक्त बैठकमा उपस्थित नभएपछि उनीहरूले पार्टीको ह्विप उल्लङ्घन गरेको संसदीय दलको निष्कर्ष छ।ह्विप उल्लङ्घनबारे स्पष्टीकरण सोधिए पनि तोकिएको ७२ घण्टाको अवधिमा कुनै जवाफ नआएको भन्दै संसदीय दलले थप कारबाही अघि बढाउने निर्णय गरेको जनाएको छ। सोही निर्णयअनुसार उनीहरूको प्रदेशसभा सदस्य पद खारेज गर्न सभामुखलाई जानकारी गराइएको हो।