काठमाडौं - कोरोनाको जोखिमले गर्दा घरेलु तथा साना उद्योग दर्ता हुने क्रम घट्दो छ । गत आर्थिक वर्षमा अघिल्ला वर्षभन्दा कम उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयमा अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ भन्दा गत आर्थिक वर्ष २०७६÷०७७ मा साझेदारी तथा निजी उद्योग दर्ता गर्ने घटेका हुन् ।
कार्यालयको अनुसार अघिल्लो आर्थिक वर्षमा १ हजार ६८८ उद्योग दर्ता भएका थिए भने गत वर्षमा यो सङ्ख्या १ हजार ४४८ मा झरेको छ । उद्योगको प्रकृतिअनुसार कार्यालयले आठ वटा शीर्षकमा उद्योग दर्ता गर्ने गरेको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ८५८, पर्यटनमूलक तर्फ १९०, सेवामूलक १८५, उत्पादनमूलक २१२ वटा र विज्ञान तथा सूचना प्रविधिमा उद्योग तीन वटा दर्ता भएका छन ।
उक्त आर्थिक वर्षमा ऊर्जामूलक, खनिजजन्य तथा निर्माणमूलक उद्योग कुनै पनि दर्ता भएका छैनन । यसैगरी अघिल्लो आर्थिक वर्षमो सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ८५६ वटा दर्ता भएका थिए ।
यस्तै उत्पादनमूलक ३५७, सेवामूलक २९५, पर्यटनमूलक १७८ , विज्ञान तथा सूचना प्रविधि दुई वटा दर्ता भएका थिए भने ऊर्जामूलक, खनिजजन्य र निमार्णमूलक उद्योग कुनै पनि दर्ता भएका थिएनन् ।
कार्यालयका प्रमुख नारायण लम्सालले कोरोनाका कारण गतचैतबाट यता उद्योग दर्ता गर्ने सङ्ख्या ठप्प जस्तै भएकाले उक्त सङ्ख्यामा कमी आएको जानकारी दिए । उद्योग दर्ता घटेपछि राजश्व सङ्कलन पनि घटेको छ ।
अघिल्लो आर्थिक वर्षमा उद्योग दर्ताबाट ४९ लाख १४ हजार रुपैयाँ राजश्व सङ्कलन भएकोमा गत आर्थिक वर्षमा रु ३५ लाख ५८ हजार रुपैयाँ मात्र राजश्व सङ्कलन भएको छ । - रासस