काठमाडौं । नेपाल प्रहरीकै भ्यानलाई ट्राफिक प्रहरीले चिट काटेको छ । ट्राफिक नियम उल्लंघन गरी फुटपाथमा पार्किङ गरेको भन्दै ट्राफिक प्रहरीले चिट काटेको हो ।
चिट काटिएकोबारे नेपाल प्रहरीले आफ्नो अफिसल फेसबुक पेजमार्फत समेत जानकारी दिएको छ । प्रहरीले आफ्नो भ्यान फुटपाथमा पार्किङ गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिरसहित पोस्ट भएको थियो ।
उक्त पोस्ट भाइरल बनेपछि ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने उक्त भ्यानको पहिचान गरेर चिट काटेको हो ।
यता प्रहरीले कानूनको पालना गर्ने र गराउने गहन जिम्मेवारी बोकेको संस्थाका सदस्यहरूले सवारी साधन प्रयोगमा उच्च अनुशासन कायम गर्नु आवश्यक रहेको र सबै प्रहरी एकाइ तथा प्रहरी कर्मचारीहरूलाई चाहे त्यो सरकारी प्रयोजनको होस् वा आफ्नो निजी होस्, सवारी साधन चलाउँदा र सवारी साधन पार्किङ गर्दा ट्राफिक नियमहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ ।