सरकारको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय अनुसार मयूर यातायातले काठमाडौंमा आफ्नो सेवा सुचारु गरेको छ । अन्य यातायात व्यवसायीले यातायात सञ्चालन गर्न आनाकानी गरिरहेको बेला मयूरले आफ्ना बसहरु सडकमा निकालेको हो ।
४४ बस रहेको मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठका अनुसार हाललाई ६ वटा बसले नियमित सेवा सुचारु गरेको छ । उनका अनुसार हाल चार बस चक्रपथमा र दुई काठमाडौं–धुलिखेल रुटमा सञ्चालन गरिएको छ । अन्य बसहरुको पनि अवस्था जाँच सकेपछि सञ्चालन गर्ने उनले जनाए ।
सरकारले तोकेको मापदण्ड पालना गर्दै एक पंक्तिमा एक जना मात्रै राख्ने, मास्क अनिवार्य लगाउनुपर्ने उल्लेख गरेको छ । सामान्य अवस्थाको भन्दा भाडा दर ५० प्रतिशतले बढी हुनेछ ।
सिण्डिकेट तोड्ने यातायातको रुपमा चिनिदै आएको मयूरले यसपटक पनि अन्य ठूला व्यवसायीको आनाकानीलाई प्रतिवाद गरेको हो । यसअघि यातायात समितिलाई कम्पनीमा बदल्ने निर्णय हुँदा अन्य यातायात व्यवसायीको निर्णय नकार्दै मयूर यातायातले सेवा दिएको थियो ।